नेभिगेशन

१ हजार ४१३ दिन सरकारकाे नेतृत्व गर्दै इटालीकी प्रधानमन्त्री मेलाेनीकाे कीर्तिमान

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनुभएको छ ।

मेलोनीको सरकारले आज १ हजार ४१३ दिन पूरा गर्दै पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको कीर्तिमान तोडेको हो । पछिल्लो ८० वर्षमा ६८ वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बाबजुद मेलोनीले सत्ता टिकाउनुभएको हो ।

यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको ‘ब्रदर्स अफ इटाली’ पार्टीले दक्षिणी शहर बारीमा राजनीतिक र्‍याली आयोजना गरेको समाचार संस्था एएफपीले  जनाएको छ । ‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटाली’ नारासहितको कार्यक्रममा मेलोनीले सन् २०२२ यता रोजगारीमा १० लाखभन्दा धेरै वृद्धि र व्यक्तिगत आयकरमा २१ अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुहुने खबरमा उल्लेख छ ।

सरकारले देशको वित्तीय अवस्थामा सुधार आएको दाबी गरे पनि आलोचकहरूले आर्थिक वृद्धि कमजोर रहेको बताएका छन् । ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्डिनीले तलब नबढेको, पेट्रोल महँगिएको, रोजगारीको असुरक्षा बढेको र स्वास्थ्य सेवा कमजोर बनेको बताउनुभयो ।

मेलोनीको गठबन्धनले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणमा केन्द्रित झन्डै ३०० कानून तथा आदेश पारित गरेको छ । सन् २०२२ मा अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनाव जितेको ‘ब्रदर्स अफ इटाली’ ले आफ्ना नीतिका कारण आप्रवासी आगमन ८० प्रतिशत घटेको दाबी गरेको छ ।

यसैबीच सरकारविरोधी प्रदर्शनकारीहरूले मेलोनी सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढावा दिएको, ‘पुलिस राज्य’ निर्माण गर्न खोजेको र आप्रवासीविरुद्ध घृणाको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । आउँदो चुनावअघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि उदाउँदै गएको छ ।

प्रकाशित मिति:
थप विश्व