नेभिगेशन

भारतको महाराष्ट्रमा ट्याक्सी र टुक–टुक चालकलाई स्थानीय भाषा सिक्न १ वर्षको समय

भारतको पश्चिमी राज्य महाराष्ट्रले ट्याक्सी र टुक–टुक चालकहरूलाई स्थानीय भाषा सिक्न एक वर्षको समय दिएको छ । राज्यले स्थानीय भाषा सिक्न अनिवार्य गर्ने नयाँ नियमविरुद्ध विरोध भएपछि ट्याक्सी र टुक–टुक चालकहरूलाई एक वर्षको समय दिएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रका यातायात अधिकारीहरूले गएको अगस्ट २० देखि चालकहरूले राज्यको आधिकारिक भाषा मराठीमा सामान्य कुराकानी गर्न सक्ने क्षमताको परीक्षण गर्न थालेका थिए । परीक्षणमा असफल भएकाहरूलाई भाषा सिक्न एक महिनाको समय दिइएको थियो; त्यस अवधिपछि उनीहरूको गाडी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन वा खारेज हुने जोखिम थियो ।

चालक र यात्रुबीचको सञ्चारमा सुधार ल्याउन तथा यात्रालाई अझ सुरक्षित बनाउनका लागि यो व्यवस्था गरिएको सरकारले भनेको छ ।

तर यस नियमले चालकहरूको सङ्घ–सङ्गठनलाई सशङ्कित बनायो; भाषा सिकिरहेकै अवस्थामा कामदारहरूले आफ्नो जीविकोपार्जन गुमाउने जोखिम मोल्न नहुने उनीहरूको तर्क थियो । धेरैजसो चालकहरू भारतका अन्य भागहरू— उत्तर प्रदेश र बिहारजस्ता धेरै जनसङ्ख्या भएका हिन्दी–भाषी राज्यहरूबाट कामको खोजीमा महाराष्ट्र आएका हुन् ।

विरोध प्रदर्शनका बीच महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले गएको हप्ता चालकहरूलाई मराठी भाषा सिक्न थप एक वर्षको समय दिइने घोषणा गर्नुभयो । धेरैजसो चालकहरू लामो समयदेखि औपचारिक शिक्षा प्रणालीभन्दा बाहिर थिए र उनीहरूलाई थप समयको आवश्यकता थियो ।

राज्यका यातायातमन्त्री प्रताप सरनाइकले चालकहरूले यस वर्षभित्र मराठी भाषा सिक्नुपर्ने अपेक्षा गरेको र यसका लागि अब कुनै म्याद थप नहुने बताउनुभएको छ ।

महाराष्ट्रमा झन्डै ९ लाख ७९ हजार वैध टुक–टुक र ट्याक्सी अनुमतिपत्रहरू जारी भएका छन् जसमध्ये झन्डै आधा मुम्बई महानगर क्षेत्रमा पर्दछन् ।

प्रकाशित मिति:
थप विश्व