नेभिगेशन

जर्मनीको राज्य निर्वाचनमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता

जर्मनीको पूर्वी राज्य स्याक्सनी–अनहाल्टमा भएको राज्य निर्वाचनमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ । हिजो सम्पन्न निर्वाचनमा एएफडीले झन्डै ४४ प्रतिशत मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ ।

यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ । एएफडीका ३५ वर्षीय प्रमुख उम्मेदवार उलरिष जीगमुन्डले निर्वाचन परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरुवात भएको बताउनुभएको छ ।

निर्वाचन परिणामले जर्मनीका परम्परागत मुलधारका दललाई भने ठूलो धक्का दिएको छ । चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन सीडीयूले झन्डै १८ प्रतिशत मत मात्रै ल्याएको छ ।

यो पार्टीका लागि राज्यमा निकै कमजोर परिणाम मानिएको खबरमा उल्लेख छ । तर जर्मनीका मुख्यधाराका दलहरूले एएफडीसँग गठबन्धन नगर्ने नीति कायम राख्दै आएका कारण राज्यमा सरकार गठन जटिल बन्ने देखिएको छ ।

एएफडीले आप्रवासन र शरणार्थीसम्बन्धी कडा नीति, रूससँग सम्बन्ध सुधार तथा युरोपेली संघप्रति आलोचनात्मक धारणा लगायतका मुद्दालाई आफ्नो राजनीतिक एजेन्डाको प्रमुख विषय बनाउँदै आएको छ । 

प्रकाशित मिति:
थप विश्व