नेभिगेशन

आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी

सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र शुरु हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकको भीड बढेको छ । तर, लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकलाई निकै कठिन भइरहेको छ ।

दमास्कसको स्टेशनरी सामग्रीको प्रमुख बजार ‘अल–असरौनिया’मा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढेको गुनासो गरेका छन् । बजारको अनुमानअनुसार प्राथमिक तहका एक विद्यार्थीका लागि आवश्यक आधारभूत स्टेशनरी सामग्रीको सेट किन्न १ लाखदेखि २ लाख ५० हजार नयाँ सिरियाली पाउन्डसम्म खर्च हुन्छ । यो झण्डै ८ देखि १९ अमेरिकी डलर बराबर हो ।

सिरियामा हाल न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५६० नयाँ सिरियाली पाउन्ड अर्थात् करिब १०५ अमेरिकी डलर रहेको बताइएको छ । यस आधारमा एउटा बच्चाको प्रारम्भिक शैक्षिक तयारीमा मात्रै परिवारको मासिक आम्दानीको ठूलो हिस्सा खर्च हुने अवस्था छ । स्टेशनरी व्यवसायी मोहम्मद खैर जकमकजीका अनुसार गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै सुस्त भएको छ ।

ग्राहकहरूले पहिलेझैँ सामग्रीको पूर्ण सेट खरिद नगरी अत्यावश्यक सामान मात्रै छानीछानी खरिद गर्ने गरेका छन् । विश्व बैंकका अनुसार सिरियाको मुद्रास्फीति सन् २०२४ मा ७२ दशमलव १ प्रतिशत रहेकामा सन् २०२५ मा घटेर ११ दशमलव ५ प्रतिशतमा झरेको छ । मुद्रास्फीतिमा सुधार देखिए पनि उच्च जीवनयापन खर्च, कमजोर श्रम बजार र पुनर्निर्माणका चुनौतीका कारण सर्वसाधारणको क्रयशक्ति अझै कमजोर रहेको छ ।

प्रकाशित मिति:
थप विश्व