नेभिगेशन

सिर्सिया खोला प्रदूषण : उद्योगीलाई मन्त्रीको एक हप्ते अल्टिमेटम

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताकाे समयसीमा दिनुभएको छ ।

आज मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षणसम्बन्धी कानूनी मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिनुभएको हो ।

सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सीधै खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित भएको छ । यसबाट बाराको सिमरा, महुली तथा पर्साको सिरसिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनीलगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन् ।

विगत लामो समयदेखि यस क्षेत्रका किसान र सर्वसाधारणले सिर्सिया खोलालाई पुनर्जीवन दिन माग गर्दै आएका छन् । मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीयवासीले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन् ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति