इरान युद्ध र महत्त्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।
महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ ।
अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालेन ४.१४ अमेरिकी डलर पुगेको थियो । यो गएको वर्षको तुलनामा झन्डै १ डलर धेरै हो । यसअघि सन् २०१२ मा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ३.८२ अमेरिकी डलर पुगेको थियो ।
यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ । सन् २०२२ को जुन महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ५.०२ अमेरिकी डलर पुगेको थियो । अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सिर्जना गरेको छ ।
परिवारको यात्रा योजना प्रभावित
पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको सङ्ख्या तथा यात्राको अवधि घट्न थालेको छ ।
पेन्सिलभेनियाकी निकोल कोलिन्सले साथीहरूलाई भेट्न दक्षिण क्यारोलिना जाने योजना बनाउनुभएको थियो । तर गाडी चलाउँदा लाग्ने खर्च बढेकाले उहाँको परिवारले गर्मीयामभरि सामान्यतया गर्नेभन्दा निकै कम यात्रा गरेको बताउनुभएको छ ।
कोलिन्सका अनुसार अहिले पेट्रोलको मूल्य निकै उच्च छ । परिवारमा सानो बच्चा भएकाले उसको आवश्यकतामा पनि खर्च गर्नुपर्ने भएकाले बढेको इन्धन खर्चले परिवारको बजेटमा थप दबाव सिर्जना गरेको छ ।
इरानमाथिको आक्रमणपछि बढ्यो मूल्य
अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्ररूपमा बढेको समाचारमा उल्लेख छ । त्यसपछि मूल्यमा केही उतारचढाव भए पनि पेट्रोलको मूल्य पुरानै स्तरमा फर्कन सकेको छैन ।
यसको मुख्य कारण विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुजमा कच्चा तेलको आवतजावतमा आएको ठूलो गिरावट हो ।
इरानले हर्मुज जलमार्ग पुनः खोल्न अस्वीकार गरेको अवस्थामा तेलको अन्तर्राष्ट्रिय आपूर्तिमा थप अवरोध आउन सक्ने चिन्ता बढेको छ । विश्व बजारमा ठूलो परिमाणमा तेल आपूर्ति हुने भएकाले हर्मुजमा हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव पार्न सक्छ ।
अमेरिकी सरकारबाट तत्काल राहतको स्पष्ट समय छैन
अमेरिकाका ऊर्जा सचिव क्रिस राइटले पेट्रोलको मूल्य घटाउन सरकारले सम्भव भएसम्मका उपाय गरिरहेको बताउनुभएको छ । तर चालकहरूले पेट्रोल पम्पमा कहिलेसम्म राहत पाउनेछन् भन्ने विषयमा उहाँले स्पष्ट समयसीमा दिनुभएको छैन ।
सरकारले पेट्रोलको मूल्य घटाउने प्रयास गरिरहेको बताए पनि अन्तर्राष्ट्रिय तेल बजारमा युद्धको प्रभाव कायम रहेसम्म मूल्य नियन्त्रण गर्न कठिन हुन सक्ने देखिन्छ ।
पेट्रोल महँगिदा अन्य वस्तुको मूल्यमा पनि असर
इन्धनको मूल्यमा भएको वृद्धिले प्रत्यक्षरूपमा गाडी चलाउने मानिसलाई मात्र प्रभावित गर्दैन । पेट्रोल तथा डिजेलको मूल्य बढ्दा सामान ढुवानीको लागत पनि बढ्छ ।
अमेरिकाका विभिन्न राज्यमा उत्पादन भएका खाद्यान्न, औद्योगिक सामग्री तथा उपभोग्य वस्तु देशका विभिन्न भागमा पुर्याउन ठूलो सङ्ख्यामा मालवाहक गाडी प्रयोग हुन्छन् । ती गाडी सञ्चालन गर्न इन्धन आवश्यक पर्ने भएकाले इन्धनको मूल्य बढ्दा ढुवानी खर्च पनि बढ्छ ।
ढुवानी खर्च बढेपछि त्यसको केही भार उपभोक्तासम्म पुग्न सक्छ । यसले समग्र महँगीमा थप दबाव सिर्जना गर्छ ।