नेभिगेशन

चाडपर्व नजिकिँदै गर्दा आपूर्ति शृङ्खलामा दबाव पर्ने चिन्ता

काठमाण्डाै – चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम बढेको छ ।

एकातिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरला नाकाबाट भित्र्याउन थालिएको छ ।

कृष्णभीरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथलगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाण्डौमा मागअनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल आयल निगमका अनुसार आज काठमाण्डौ उपत्यकामा नौ ग्यास कम्पनीका १८ हजार २५९ सिलिन्डर मात्र डिलरमार्फत बजारमा पठाइएको छ ।

पछिल्ला दिनमा उपत्यकामा दैनिक झन्डै एक लाख सिलिन्डरको माग रहेको एलपी ग्यास उद्योग सङ्घको भनाइ छ । सामान्य अवस्थामा भने दैनिक झन्डै ३५ देखि ४० हजार सिलिन्डर आवश्यक पर्ने बताइएको छ ।

आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण प्रभावित भएको छ । उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएको छ । मुख्य राजमार्ग तत्काल सञ्चालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ ।

यस्तै उत्तरी कोरला नाकाबाट रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन् । विशेषगरी चाडपर्वका बेला खाद्यान्न, फलफूल, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले अहिले देखिएको सडक तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति शृङ्खलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ ।

प्रकाशित मिति:
थप अर्थ