नेभिगेशन

भदौ २३ र २४ मा देशमा जे भयो, त्यो अब नदोहोरियोस् : रवि लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ ।

सभापति लामिछानेले आज प्रेस विज्ञप्ति निकालेर नवयुवा आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको बताउनुभएको छ ।

‘हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

सभापति लामिछानेले ठीक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनुभएको छ ।

‘वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालका सचेत युवा पुस्ता (जेन–जी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो’, उहाँले भन्नुभयो, ‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् ।’

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, अनि विशेषगरी देशको भविष्य आफ्नै काँधमा बोकेर उभिएको ऊर्जावान् युवा पुस्ता !

ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको थियो। वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालको सचेत युवा पुस्ता (जेन्जी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो।

आज, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेरो व्यक्तिगत तर्फबाट उक्त आन्दोलनको वास्तविक मर्मलाई स्मरण गर्दै केही कुरा राख्न चाहन्छु।

एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

आन्दोलनका क्रममा अङ्गभङ्ग हुनुभएका, घाइते हुनुभएका तथा मानसिक एवं शारीरिक चोट भोग्नुभएका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु।

राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो‌ त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट 'अस्वीकृति पत्र' थियो। त्यो आन्दोलनले एउटा जबर्जस्त सन्देश दियो: यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।

यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन; यो पूर्णतः स्वस्फूर्त जागरण थियो। त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन।

हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ ।

म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ।

अन्त्यमा, जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।

रवि लामिछाने

सभापति

राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित मिति:
थप राजनीति