नेभिगेशन

बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा : इजरायलको आपत्ति

बेलायतले कब्जामा रहेको वेस्ट बैंकमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र ‘जातीय सफाया’ गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कडा कदम चाल्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ ।

उहाँले यो कदम इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरुवात भएको बताउनुभएको छ । बेलायतको घोषणाप्रति इजरायलले भने कडा आपत्ति जनाएको छ ।

इजरायली विदेशमन्त्री गिडियन सारले मिलिब्यान्डको आरोपलाई ‘झूट’ भन्दै आलोचना गर्नुभएको छ । इजरायलले पूर्वी जेरुसेलममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्नेलगायत प्रतिकारात्मक कदम चाल्ने घोषणा गरेको छ ।

बेलायतले घोषणा गरेको प्रतिबन्ध बस्ती विस्तारका लागि सेवा तथा सहयोग उपलब्ध गराउने कम्पनी र व्यक्तिमाथि पनि लागू हुनेछ । फ्रान्स र क्यानडाले पनि बेलायतसँगै संयुक्त रूपमा प्रतिबन्ध घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय कानुनअनुसार वेस्ट बैंकमा रहेका इजरायली बस्तीलाई गैरकानुनी मानिन्छ । पछिल्ला महिनामा त्यहाँ प्यालेस्टिनीमाथि इजरायली बस्तीमा बस्ने मानिसबाट हुने हिंसा बढेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व