नेभिगेशन

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अधिवेशन न्यूयोर्कमा शुरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन औपचारिक रूपमा शुरु भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो । अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भैरहेको द्वन्द्व, विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असरसमेत तीव्र रूपमा बढिरहेको बताउनुभएको छ ।

यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाब सिर्जना गरेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद, सहकार्य र प्रभावकारी काममार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड छ ।

८१औँ महासभाको मुख्य विषय “विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ” तय गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्व, विभाजन र आणविक तनावको जोखिम, गरिबी तथा असमानता, बढ्दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औँल्याउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति:
थप विश्व