नेभिगेशन

विपद‍्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीडामा परेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोकचौतारोमा होच्याउने काम आजै र अहिल्यै बन्द गर्न आग्रह गर्नुभयो । उहाँले विपद‍्मा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारसँग मागसमेत गर्नुभएको छ ।

वक्तव्य मात्र निकालेर नपुग्ने भन्दै लामिछानेले राज्य पीडितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारलाई आग्रह गर्नुभयो । साथै रास्वपाका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएकाे पाइए पार्टीले कडा कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद‍्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध समर्थक चाहिएको छैन । हामीलाई त शोक र पीडामा परेका भुँइमान्छेको पक्षमा उभिने र उनीहरूको आँशु पुछ्ने सदस्यहरू चाहिएको छ ।’

सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्यसत्ता भएको भन्दै विपद‍्मा परेकाहरूको आँशु पुछ्न र आशा बगाएकाप्रति कटाक्ष गर्नेहरूलाई कारबाही गर्न आग्रह गर्नुभयो ।

उहाँले भोटेकोशीमा आएको बाढी र त्यसले पारेको क्षति सामान्य विपद् मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो ।

सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसद‍्बाटै विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसको भारी मूल्य नेपालीले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि दबाव बढाउनुपर्नेमा जोड दिनुभयो ।

लामिछाने भोटेकोशी बाढीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र ‘हानि तथा नोक्सानी कोष’ मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो । साथै पीडितहरूलाई तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति:
थप राजनीति