नेभिगेशन

गएकाे अगस्ट बन्याे अहिलेसम्मकै ताताे महिना

युरोपेली सङ्घ (ईयू) को जलवायु अनुगमन सेवा कोपर्निकसले गएको अगस्टलाई विश्वभर रेकर्ड गरिएको सबैभन्दा तातो महिना भएको जनाएको छ ।

कोपर्निकसका अनुसार अगस्टमा विश्वको औसत तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो । यो सन् २०२३ को जुलाईमा कायम भएको अघिल्लो मासिक कीर्तिमानभन्दा ०.०१ डिग्री सेल्सियस धेरै हो । अन्तर निकै कम भएकाले दुवै महिनालाई संयुक्तरूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ ।

कोपर्निकसकी सामन्था बर्गेसले कम्तीमा पछिल्लो १ लाख वर्षमा मानिसले अहिलेजस्तो उच्च तापक्रम नदेखेको बताउनुभयो ।

वैज्ञानिकहरूका अनुसार कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युगअघिको तुलनामा पृथ्वीको तापक्रम झन्डै १.४ डिग्री सेल्सियस बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धनप्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु सङ्कट बढाइरहेको बताउनुभयो ।

यसैबीच अगस्टमा समुद्री सतहको तापक्रम पनि उच्च विन्दुमा पुगेको र महासागरमा लगातार ३ महिनासम्म तापक्रमका नयाँ कीर्तिमान कायम भएको कोपर्निकसले जनाएको छ ।

हरितगृह ग्यासबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशतभन्दा धेरै समुद्रले सोस्ने भए पनि यसले समुद्री जीव, तटीय समुदायमा गम्भीर असर पारिरहेको वैज्ञानिकहरूले बताएका छन् ।

कोपर्निकसका अनुसार जुनदेखि अगस्टसम्म पश्चिमी युरोपले सन् २००३ को सबैभन्दा तातो गर्मीको कीर्तिमानसमेत पार गरेको छ । लगातारको तातो लहरका कारण विद्यालय बन्द गर्नुपरेको, नदी सुकेको र जङ्गलमा आगलागीको जोखिम बढेको थियो ।

युरोपमा अतिरिक्त मृत्युको निगरानी गर्ने तथ्याङ्कअनुसार जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म अत्यधिक गर्मीका कारण ३२ हजारभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको थियो ।

असाधारण गर्मी युरोपमा मात्र सीमित रहेन । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले पनि अमेरिकाले अभिलेखमै सबैभन्दा तातो गर्मीमध्ये एक सामना गरेको जनाएको छ । कोपर्निकसको तथ्याङ्कअनुसार झन्डै ९० करोड मानिस बसोवास गर्ने क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा तातो जुलाई रेकर्ड भएको थियो ।

प्रकाशित मिति:
थप विश्व