नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै

काठमाण्डौ – नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ ।

उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्र विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको हो । आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट नेपालमा ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने एक हजार ११६ वटा परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । त्यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा परियोजना रहेका छन् ।

यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको रुचि उल्लेख्य रूपमा बढेको देखाएको छ । विभागका अनुसार सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलक क्षेत्रमा चार, कृषिमूलक क्षेत्रमा १८, पर्यटन क्षेत्रमा २२७, खनिज क्षेत्रमा चार, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुईवटा परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

परियोजनाको सङ्ख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको छ । नेपालमा दक्ष जनशक्ति उपलब्ध हुनु, सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसायको विस्तार हुनु र तुलनात्मक रूपमा कम पूर्वाधारबाट पनि सूचना प्रविधिसम्बन्धी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यो क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको बताइएको छ ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ वटा परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लगानी प्रतिबद्धताको कुल रकम केही घटे पनि परियोजनाको सङ्ख्या भने उल्लेख्य रूपमा बढेको देखिन्छ ।

उद्योग विभागका अनुसार नेपालमा राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण विदेशी लगानीकर्ताको विश्वास बढ्दै गएको छ । 
 

प्रकाशित मिति:
थप अर्थ