नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनुभएको छ ।

काठमाण्डाैमा आज आयाेजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले कतातिर जाने, कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । अहिलेका प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेका प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा – ही हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानका आधारमा भनेको होइन । उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन् ।’

सभापति थापाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने उल्लेख गर्नुभयाे । तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उहाँकाे दाबी छ ।

सभापति थापाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति