नेभिगेशन
शुक्रबार, भदौ २६, २०८३

बन्द र समस्याग्रस्त सरकारी उद्योग निजी क्षेत्रलाई नै चलाउन दिन्छाैँ : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा भएको नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभामा उहाँले सरकार आफैँले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनुभएको हो ।

उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत ७ वटा उद्योगको विस्तृत मूल्याङ्कन (डीडीए) भएको छ । तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।

यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् (ग्रे लिस्ट) बाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनुभएको छ ।

सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५/६ जनाको टोली नै परिचालन गरिएको र टोली अहिले मलेशियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ ।

उहाँले प्राकृतिक विपद‍्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप अर्थ