काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।
औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो शनिबार सभाहलमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दाबोल्दै विवाद भएको हो ।
कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीलेलगायत सरोकारवालाले आ–आफ्नो सुझाव राखिसकेपछि औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बोल्नुभएको थियो । त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेशकुमार महतो नाम थियो । तर उहाँलाई समय नदिई मन्त्रीलाई बोल्न आग्रह गरिएपछि महतोले बीचमै प्रश्न गर्नुभयो ।
रास्वपाका सांसद शिव यादवले होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको बताउनुभएको छ । समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको टिप्पणी गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री पोखरेलसहित सांसद शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति, सिराहाका सभापति महतो तथा गाउँपालिकाका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विवाद भएपछि मन्त्री पोखरेल मन्तव्य नसक्दै सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरीनुभएको थियो ।
शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड गरेर भ्रामक प्रचार गरिएको बताउनुभएको छ । मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ ।
मन्त्री पोखरेलले विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक र अभिभावकसँग सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ २४ गतेदेखि सातै प्रदेशका २८ जिल्लामा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ ।
यो अभियान पर्सि भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा ७७ वटै जिल्लामा सरोकारवालासँग सुझाव लिइनेछ