नेभिगेशन
आइतबार, भदौ २८, २०८३

भोटेकोशी बाढी हिमपहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक

काठमाण्डाै – सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ ।

जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ’आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको हो । भयानक हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जासमेत रेकर्ड गरिएको थियो ।

प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो । तीव्र वेगको बाढीले पूर्वसूचनाका लागि समय नै नदिई नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्णरूपमा नष्ट गरिदिएको छ ।

यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ ।

बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुई वटा नयाँ अस्थायी ताल बनेका छन् । यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औँल्याएको छ ।

यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्वसूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभीमार्फत ’रियल–टाइम’ नदी अनुगमन प्रणाली जडान गरिएको छ ।

प्रकाशित मिति:
थप समाज