नेभिगेशन
सोमबार, भदौ २९, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाण्डाै – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ ।

देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो ।

संस्थापन पक्षले हिजो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटून् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बाेधन गर्न निरन्तर पहलकदमीका लागि यस्तो निर्णय गएिको हो ।

यसअघि पूर्वसभापति देउवा समूहले गएको साउनदेखि २९ देखि ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टै १५औँ महाधिवेशन आउँदो मङ्सिर २१ देखि २३ गतेसम्म काठमाण्डाैमा गर्ने निर्णय गरेको छ ।

संस्थापन पक्षले यसअघि नै पार्टीको १५औँ महाधिवेशन आउँदो असोज १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने निर्णय गरिसकेको छ ।

यसरी दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ ।

प्रकाशित मिति:
थप राजनीति