नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित

बेलायतमा विद्यालयको दिवाभोजनमा ‘डीप फ्राइड’ अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ ।

यो एक दशकभन्दा धेरै समययता विद्यालयको खानासम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो । नयाँ मापदण्डअन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्द्धन गरिने बीबीसीले जनाएको छ ।

अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ‘ब्रेकफास्ट क्लब’ हरूले पहिलो पटक पोषणसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ । साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ ।

‘एसोसिएशन अफ स्कुल एन्ड कलेज लिडर्स’ (एएससीएल) ले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ ।

सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् २०२७ देखि लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च व्यहोरिनेछ ।

नयाँ मापदण्डअन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केकजस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ । साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्यरूपमा तयार गर्नुपर्नेछ ।

ह्याम, ससेज र चिकेन नगेट्सजस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्यरूपमा समावेश गर्नुपर्नेछ ।

शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पु¥याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ ।

प्रकाशित मिति:
थप विश्व