अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले आफ्नो प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार गरिरहेको छ । चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता कायम राख्न चाहेको उहाँको भनाइ छ ।
अमेरिकाको परम्परागत नेतृत्व भूमिकामा आएको कमीले चीनलाई थप अवसर दिएको समाचार संस्था एएनआईले छ । यूएसएआईडीजस्ता कार्यक्रमको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थ केन्द्रित दृष्टिकोणले उसको ‘सफ्ट पावर’ कमजोर भएको विश्लेषण गरिएको छ । यसबीच चीनले दुर्लभ–पृथ्वी तत्त्व, ऊर्जा तथा व्यापारका क्षेत्रमा आफ्नो रणनीतिक प्रभाव देखाउँदै आएको छ ।
दक्षिण चीन सागरमा चीनको गतिविधि उसको बढ्दो आत्मविश्वासको अर्को उदाहरण हो । चीनको क्षेत्रीय दाबीविरुद्ध मध्यस्थताको स्थायी अदालतले गरेको फैसला चीनले अस्वीकार गर्दै आएको छ । फिलिपिन्सले चीनको दबाव र सूचना अभियानको सामना गर्न कठिन भइरहेको जनाएको छ ।
चीन–अमेरिका शक्तिको अन्तर घट्दै गए पनि चीन तत्काल द्वन्द्व चाहँदैन । अमेरिकी विदेश नीति विश्लेषक ह्यासका अनुसार चीनले अमेरिकालाई अझै ‘मुख्य रणनीतिक खतरा’ का रूपमा हेर्छ र द्वन्द्वबाट बच्दै सीमित सहयोग तथा दीर्घकालीन प्रतिस्पर्धाको नीति अघि बढाइरहेको छ । तर शक्ति सन्तुलनमा आएको परिवर्तनले ‘थुसिडाइड्स ट्र्याप’ अर्थात् उदाउँदो र कमजोर हुँदै गएको शक्तिबीच द्वन्द्वको जोखिम भने बढाएको छ ।
यसै सन्दर्भमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सन् २०२८ सम्ममा चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना ३ मध्ये १ रहेको अनुमान गर्नुभएको छ । उहाँले चिनियाँ सैन्य तयारी तीव्र बन्दै गएको र सन् २०२८ को ताइवान राष्ट्रपतीय चुनावलाई सम्भावित जोखिमको विन्दुका रूपमा औँल्याउनुभयो । यद्यपि चीनका लागि सैन्य कारबाही अझै अत्यन्त जोखिमपूर्ण रहेको उहाँको भनाइ छ ।
बदलिँदो विश्व व्यवस्थामा ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ पनि कमजोर बनेको विश्लेषण भइरहेको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिजका प्रमुख कार्यकारी सर जोन चिपम्यानले अहिले शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय नियम दुवै कमजोर रहेको बताउनुभयो ।
ह्यासका अनुसार चीन पुरानो व्यवस्था पूर्णरूपमा ध्वस्त पार्नुभन्दा आफू अनुकूल पक्षलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय समर्थन जुटाउने रणनीतिमा अघि बढेको छ । बेल्ट एन्ड रोडअन्तर्गत लगानी केही सीमित भए पनि चीन आर्थिक निर्भरतालाई राजनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्षम बन्दै गएको उहाँको विश्लेषण छ ।
अमेरिका आफ्नो परम्परागत नेतृत्व भूमिकाबाट पछि हट्दै जाँदा चीनका लागि अवसर बढेको भए पनि विश्वव्यापी नेतृत्वका लागि चीनले बयानबाजी मात्र नभई पर्याप्त स्रोत, अन्तर्राष्ट्रिय साझेदारी र विश्वसनीयता प्रदर्शन गर्नुपर्ने देखिन्छ । त्यसैले २०२० को दशक चीनको दशक बन्ने सम्भावना बढे पनि त्यसको अन्तिम परिणाम अझै निश्चित भइसकेको छैन ।