नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

सचिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामाे समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी

काठमाण्डाै – जिम्बावेका विकेटकिपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोडेका छन् । घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका क्रममा टेलरले तेन्दुलकरको कीर्तिमान तोडेका हुन् ।

सन् २००४ मा डेब्यु गरेयता २२ वर्ष र १४६ दिनको करियरसहित सन् २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका ४० वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।

तेन्दुलकरको एकदिवसीय करियर सन् १९८९ देखि २०१२ सम्म गरी २२ वर्ष र ९१ दिनको रहेको थियो ।

टेलरले सन् २०२१ मा सन्न्यास लिएका थिए । सन् २०२२ मा आईसीसीको भ्रष्टाचार विरोधी र डोपिङ विरोधी नियमहरू उल्लङ्घन गरेकोमा उनलाई साढे ३ वर्षको प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्धको अवधि पूरा गरेपछि टेलर सन् २०२५ मा सन्न्यासबाट फर्किएका हुन् ।

टेलरले २०७ एकदिवसीय क्रिकेटमा ११ शतक र ३९ अर्धशतकसहित ६ हजार ७०४ रन बनाएका छन् ।

सचिनले सन् २०१२ मा एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले ४६३ खेलमा ४९ शतक र ९६ अर्धशतकसहित १८ हजार ४२६ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान अझै पनि सचिनकै नाममा छ ।

प्रकाशित मिति:
थप खेलकुद