नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालन शुरू

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले संसदीय काम कारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालन शुरू गरेको छ ।

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज संयुक्त रूपमा यो प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो ।

संसद्लाई क्रमशः कागजरहित बनाउँदै काम कारबाहीलाई थप छिटो, व्यवस्थित र प्रभावकारी बनाउन यो प्रणाली शुरू गरिएको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार यस प्रणालीमार्फत संसद्का सूचना र सरकारी बिजनेस डिजिटल माध्यमबाट आदानप्रदान गरिनेछ । साथै नागरिकले विधेयकमा संशोधन वा सुझाव दिनका लागि पनि डिजिटल माध्यमको प्रयोग गर्न पाउनेछन् ।

यो प्लेटफर्ममा समितिका बैठक व्यवस्थापन, विधेयकको डिजिटल दर्ता, सांसदको विद्युतीय हाजिरी र बहसका श्रव्यदृश्य अभिलेख राखिनेछ ।

नागरिकका लागि सार्वजनिक पोर्टलमार्फत सदनका गतिविधि र प्रतिवेदन हेर्न सकिने सुविधा हुनेछ भने सांसदहरूका लागि मोबाइल एपको व्यवस्था गरिएको छ ।

यस प्रणालीमा एआई प्रविधिको प्रयोग गरी विधेयकको सारांश निकाल्ने र नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा खोज्न सकिने सुविधासमेत रहनेछ । डेटा सुरक्षाका लागि सरकारी डेटा सेन्टरमार्फत उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको संसद् सचिवालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै सभामुख अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्लाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको जानकारी दिनुभयाे ।

सभामुख अर्यालले आउँदाे पाँच सय वर्षपछि पनि नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको उल्लेख गर्नुभयाे । संसद् बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीसमेत सुरक्षित अभिलेखका रूपमा राखिने उहाँको भनाइ छ ।

अर्यालले सङ्घीय संसद्लाई मात्र नभई कार्यपालिका, न्यायपालिका तथा सङ्घ, प्रदेश र पालिकाका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधिमैत्री बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नागरिकको राज्य, नेतृत्व, कर्मचारी र सञ्चारमाध्यमप्रतिको विश्वास थप मजबुत बनाउने उद्देश्यसहित डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति