नेभिगेशन
बुधबार, भदौ ३१, २०८३

भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

काठमाण्डाै – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनुभएको छ ।

प्रारम्भिक अध्ययनबाट बाढीको मुख्य उत्पत्ति, भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले कारण खाेज्न समिति गठन गरेकाे हाे ।

समितिले हिमाली भू–जोखिम, शृङ्खलाबद्ध विपद् र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ । विज्ञ टोलीले ड्रोन तथा स्याटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ ।

तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई दुई महिनाको समय दिइएको छ । प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढीलाई उपयुक्त वैज्ञानिक नामसमेत दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति