नेभिगेशन
बिहीबार, असोज १, २०८३

युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा २० जनाको ज्यान गयो

गाजा पट्टीमा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा पाँच बालबालिकासहित कम्तीमा २० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

गाजा शहरको ताल अल–हावा क्षेत्रमा रहेको ६ तले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको छ । भवन असुरक्षित रहेको चेतावनीका बाबजुद त्यहाँ झन्डै १० परिवार बस्दै आएका स्थानीयवासीले बताएका खबरमा उल्लेख छ ।

नागरिक सुरक्षा निकायका निर्देशक राएद अल–दहशानले भग्नावशेषमुनिबाट आवाज सुनिएकाले मानिसहरूलाई जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको गाजामा रहेको बताउनुभएको छ । आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएका उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को गाजामा रहेको कार्यालयका प्रमुख आलेसान्द्रो म्राकिचका अनुसार क्षतिग्रस्त भवनको भग्नावशेषमुनि ७० देखि १०० जना मानिस फसेका अनुमान छ । उहाँले गाजाभरि युद्धका कारण क्षतिग्रस्त भएका अरू झन्डै ४०० वटा भवन ढल्ने उच्च जोखिममा रहेका चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायल र हमासबीचको युद्धका क्रममा गाजामा रहेका कुल संरचनामध्ये झन्डै ८० प्रतिशत ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।

प्रतिवेदनका अनुसार यस क्षेत्रको कुल जनसङ्ख्याको झन्डै ९० प्रतिशत अर्थात् १९ लाखभन्दा धेरै मानिस विस्थापित भएका छन्—जसमध्ये धेरैजसो पटक–पटक विस्थापित भएका छन्—र तीमध्ये १२ लाख मानिस अहिले पाल वा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् ।

गाजा युद्धको शुरुआत सन् २०२३ अक्टोबर ७ मा  दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणबाट भएको थियो जसमा झन्डै १ हजार २०० जना मानिरएका थिए र अरू २५१ जनालाई बन्धक बनाइएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा ७३ हजार ७०० भन्दा धेरै मानिस मारिएका छन् ।
 

प्रकाशित मिति:
थप विश्व