नेभिगेशन
शनिबार, असोज ३, २०८३

भोटेकोशी बाढीपछि क्रमश: लयमा फर्कँदै पर्यटन

काठमाण्डौ – भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बङ्गलादेशबाट आएका १८५ जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गर्नुभयो ।

गएको भदौ १० गते भोटेकोशी बाढीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश दिन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटनसम्बद्ध सङ्घसंस्था लागेका छन् । रसुवा, धादिङ, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अरु पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गरिएको छ ।

‘नेपाल कलिङ अभियान’पछि बङ्गलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ प्रतिनिधि नेपाल भ्रमणका लागि आएका हुन् । थप ३० जना चाँडै नेपाल आउने कार्यक्रम छ ।

नेपालमा हालैको बाढीका कारण अन्तरराष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा यति ठूलो कर्पोरेट टोलीको आगमनलाई सकारात्मक सन्देशका रूपमा हेरिएको बोर्डका प्रवक्तासमेत रहनुभएका निमित्त निर्देशक शर्माले बताउनुभयो । 

प्रकाशित मिति:
थप समाज