नेभिगेशन
सोमबार, असोज ५, २०८३

एशियाली खेलकुदमा एरिका गुरुङ पदकविहीन

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ पदकविहीन भएकी छिन् ।

नागोयामा भएको ६८ केजीमाथिको कांस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मोस्तफा दिना अहमदसँग ८–७ अङ्कले पराजित भइन् । एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा २ अङ्क गुमाउँदा पदकविहीन भएकी हुन् ।

एरिका गएको संस्करणको एशियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाडी हुन् । यस पटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो ।

यस्तै ६० केजीमुनिको स्पर्धामा नेपालका मीनबहादुर तामाङ कांस्य पदकबाट चुकेका छन् । तामाङ साउदी अरेबियाका अल्बासेर एसएबीसँग २–० ले पराजित भए ।

त्यस्तै ५५ केजीमुनि नेपालका राकेश मानन्धर पनि कांस्य पदक जित्न असफल भएका छन् । मानन्धर मलेशियाका कालिएना सुन्दरमसँग ९–१ को फराकिलो अन्तरले पराजित भए ।

यसैगरी करातेमा ६८ केजी तौल समूहमा नेपालकी निरूपा दोङले भाेलि क्वाटरफाइनलमा खेल्दैछिन् भने टिम कातातर्फको खेल पनि भोलि नै हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद