नेभिगेशन
सोमबार, असोज ५, २०८३

एशियाली खेलकुद : महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलङ्का खेल्ने

काठमाण्डाै – जापानमा चलिरहेको १९औँ संस्करणको एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलङ्का खेल्ने भएका छन् ।

आज भएको पहिलो सेमिफाइनलमा श्रीलङ्काले पाकिस्तानलाई ८ विकेट र भारतले बङ्गलादेशलाई ११४ रनले हराउँदै फाइलनमा पुगेका हुन् ।

पाकिस्तानले दिएको १७८ रनको लक्ष्य श्रीलङ्काले १७ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । श्रीलङ्काकी कप्तान चमारी अथापथुले नटआउट ८३, हसिनी पेरेराले ४२ रन बनाए । पाकिस्तानकी कप्तान फतिमा सना र नशरा सन्धुले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनायो । पाकिस्तानका आयशा जफरले ७१, शवाल जुल्फिकारले ५४ रन बनाए । श्रीलङ्काका सुगन्दिका कुमारी, चमारी अथापथु र काव्या कविन्दीले १/१ विकेट लिए ।

यस्तै भारतले दिएको १९६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १५ ओभर ४ बलमा ८१ रन बनाउँदा सबै विकेट गुमायो । बङ्गलादेशकी दिलारा अख्तरले २७ रन बनाइन् । भारतकी नन्दिनी शर्मा र दिप्ती शर्माले ३/३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनायो । भारतकी शेफाली वर्माले नटआउट १०० रन बनाइन् । शेफाली एशिया कप महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनिन् । बङ्गलादेशकी मरुफा अख्तर, सन्जिदा अख्तर मेघाला, रबेया खान र नहिदा अख्तरले १/१ विकेट लिए ।

अब स्वर्ण पदकका लागि भारत र श्रीलङ्काबीचको खेल पर्सि मङ्गलवार हुनेछ । यस्तै तेस्रो स्थानका लागि बङ्गलादेश र पाकिस्तानबीचको खेल पनि त्यही दिन हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद