नेभिगेशन
सोमबार, असोज ५, २०८३

जापानमा समुद्री आँधीका कारण एशियाली खेलकुदमा पनि असर

काठमाण्डौ – जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘डुजुआन’का कारण एशियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।

नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेलका तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन् । जसअन्तर्गत आजका लागि तय गरिएको घोडचढीसम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ ।

एशियाली खेलकुदमा सहभागी झण्डै चार हजार खेलाडी तथा पदाधिकारीहरू अहिले ‘कोस्टा सेरेना’ नामक क्रुज जहाजमा बसिरहेका छन् । आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ ।

खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही स्थानमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसैबीच, जापानी टोलीका चिफ डे मिसन कोसेई इनोउले सम्भावित आपत्कालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ ।

१३० किलोमिटर प्रतिघण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुदबाहेक सयौँ उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रमसमेत प्रभावित भएका छन् ।

मौसमविद्हरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । 


 

प्रकाशित मिति:
थप खेलकुद