नेभिगेशन
सोमबार, असोज ५, २०८३

एशियाली खेलकुदमा आज : नेपालको निराशाजनक प्रदर्शन

काठमाण्डौ – जापानमा जारी २०औँ एशियाली खेलकुदमा आज नेपालले कराँते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ ।

करातेको महिला कुमिते ६८ केजीमा निरुपा दोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । हङकङकी वोङ चेक लीसँग निरुपा ३–० ले पराजित भइन् । बक्सिङको पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अलि कासिम हामदान अलसारेसँग ५–० ले पराजित भएका छन् ।

पुरुष कबड्डीमा  नेपालले समूह ‘बी’को पहिलो खेलमै हार बेहोरेको छ । नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको हो । महिला उसु प्रतियोगितामा सुष्मिता तामाङ १३औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिइन् ।

१६ खेलाडी सहभागी स्पर्धामा उनी पदक होडबाट बाहिरिएकी हुन् । त्यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सेटमा पराजित भएको छ । आज भएको ९–१२औँ स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

यसअघि समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएपछि पदकको दौडबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ । अब नेपालले ११औँ स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति:
थप खेलकुद