काठमाण्डाै – अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका झन्डै २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दीलगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।
बाढी पहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण सङ्कलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो ।
विद्युत् आपूर्ति अवरुद्ध भएका ठाउँमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अन्य उपलब्ध प्रसारण वितरण संरचनामार्फत विद्युत् आपूर्ति शुरू गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः पुनःस्थापना गर्ने कार्य भइरहेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र शुरू गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार ठूलो वर्षा, बाढी पहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । सडक तथा पहुँचमार्ग खुल्ने बित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनस्र्थापनाको काम तीव्र बनाइने उहाँले बताउनुभयो ।
विपद्को अवस्थामा संयमित रहन र ढलेका पोल वा चुँडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।