काठमाण्डाै – भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन ठप्पप्रायः भइरहेका बेला पोखराले पर्यटन क्षेत्र खुला र पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश दिएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा पोखराको लेकसाइडमा आयोजित मिनी सडक महोत्सवमार्फत पर्यटन व्यवसायीले प्रतिकूल परिस्थितिका बाबजुद पोखराका पर्यटकीय गतिविधि सञ्चालनमा रहेको सन्देश दिएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन, रेवान पोखराले आयोजना गरेको महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार तथा आतिथ्य प्रस्तुत गरिएको थियो ।
सामान्य अवस्थामा स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड अहिले सुनसानजस्तै बनेका बेला महोत्सवले केही चहलपहलसमेत बढाएको थियो । भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानमा देखिएको विपद्सँगै पोखरा जोड्ने मुख्य सडकमार्ग पृथ्वी राजमार्ग प्रभावित हुँदा पर्यटक आगमन उल्लेख्य रूपमा घटेको पर्यटन व्यवसायीले बताएका छन् ।
दुई हप्ताभन्दा बढी समय पृथ्वी राजमार्ग प्रभावित हुनुका साथै अन्य सडकमा समेत अवरोध र जोखिम बढेपछि पोखराको पर्यटन क्षेत्र प्रभावित भएको उनीहरूको भनाइ छ ।
रेवान पोखराका अध्यक्ष वसन्त गौतमले विषम परिस्थितिमा पोखराको पर्यटन क्षेत्र प्रभावित भए पनि पोखरा सुरक्षित रहेको र पर्यटकको स्वागतका लागि व्यवसायी तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार बुकिङ रद्द हुने क्रम बढे पनि स्थानीय कला, संस्कृति, खानाका परिकार र आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गर्दै पोखराका पर्यटकीय गन्तव्य खुला तथा सुरक्षित रहेको सन्देश दिन महोत्सव सफल भएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटनलाई लेकसाइडमा मात्र सीमित राख्न नहुने बताउनुभएको छ । पर्यटकको आवश्यकता र रुचिअनुसार नयाँ पर्यटकीय गन्तव्य तथा अनुभव विकास गर्दै पर्यटन गतिविधि विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । भोटेकोशी बाढी र मनसुनको प्रभाव क्रमशः कम हुँदै गएकाले अवका दिनमा पर्यटक आगमन बढ्ने व्यवसायीको अपेक्षा छ ।
यसैबीच पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ । फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले हिजोदेखि सञ्चालनमा ल्याइएको बोट प्रतिघण्टा १०५ किलोमिटर गतिमा सञ्चालन हुनछ ।