काठमाण्डाै – गएकाे हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । २६६ मेगावाट क्षमताका ३ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका ८ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेशिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कशपमा ठूलो क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सुकेबगरमा निर्माणाधीन बाँधमा डाइभर्सन भत्काएर पसेको कालीगण्डकीको बाढीले गेग्रान थुपारेको छ । याे ठाउँमा रहेको सुरुङको अडिटभित्र पनि बाढी पसेको छ ।
अन्नपूर्ण–२ नागढुङ्गा र रातोपानीमा रहेकाे आवासका भवनहरू भत्काउनुका साथै त्यहाँ रहेका सामग्री बाढीले बगाएको छ । नौलीबगरमा निर्माणाधीन भूमिगत विद्युत्गृहको अगाडि रहेको बेनी–जोमसोम–कोरलासडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएको छ । कालीगण्डकीको बाढीले याे आयोजनाको ‘लेबरक्याम्प’ पनि बगाएर लगेको छ ।
कालीगण्डकीको बाढीका कारण आयोजनाको क्याम्प र निर्माणस्थलसँगको यातायात सम्पर्क टुटेको तथा सडक, विद्युत् र सञ्चार सुविधाको अभावमा क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको सो आयोजनाका प्रबन्ध निर्देशक गुरु ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी बाढी पहिरोले क्षति पुर्याएपछि आयोजनाको निर्माण रोकिएको सिभिल ठेकेदार कम्पनी रसुवा–मल्टी जेभीले जानकारी दिएको छ । विसं २०८१ देखि निर्माण शुरू भएको आयोजनाको भौतिक प्रगति अहिलेसम्म विना रोकतोक अघि बढिरहेकामा बाढीले अवरोध उत्पन्न गरेको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध बनाई ४ हजार ३१९ मिटर लामो मुख्य सुरुङबाट ल्याउने पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
नदी प्रवाहमा आधारित प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचयार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छन् । मध्यकालीगण्डकीको विद्युत् नौनीबगरबाट ७ किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध हुनेछ ।
३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित थालिएको आयोजनाको निर्माण अवधि बाढी पहिरोका कारण लम्बिने देखिएको छ । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नबिल बैंक लिमिटेडको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्तामार्फत जुटाइने छ ।
नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिददर ८ रुपैयाँ ४० पैसा र वर्षायामको दर ४ रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड र बर्खामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।
पछिल्लो बाढी पहिरोबाट सबैभन्दा धेरै यही विद्युत् आयोजना निर्माणस्थल रहेको अन्नपूर्ण गाउँपालिका प्रभावित भएको छ । ६ जनाको ज्यान गएको यस गाउँपालिकामा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । अध्यक्ष भारतकुमार पुनका अनुसार प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना बन्द भएका छन् ।
अन्नपूर्ण–१ दोवाको भीरकाटे पारिका २ र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण–४ को भूगोलमा पर्ने नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२ र ५ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।
अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गएकाे साउन अन्तिम हप्तादेखि बन्द भएको छ । रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा माथिल्लो क्षेत्रबाट बाढी आएर गेग्रान थुप्रिएको आयोजना प्रमुख दार्शनिक काफ्लेले बताउनुभयो ।
प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाटको कालीगण्डकी गर्ज र ९ मेगावाटको सुपर घलेम्दीखोला जलविद्युत् आयोजनाको पनि निर्माण कार्य प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीको बाढीले क्षति पुर्याएकाले परीक्षण उत्पादन बन्द भएको छ ।