नेभिगेशन
आइतबार, असोज १८, २०८३

ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेदवारबीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्त्वपूर्ण राजनीतिक प्रतिस्पर्धाका रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसकेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच अक्टोबर २५ मा ‘रनअफ’ अर्थात् दोस्रो चरणको चुनाव हुनेछ । अरू १० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ ।

८० वर्षीय लुला सातौँ पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँ चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ, यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन् । ४५ वर्षीय फ्लाभियो बोल्सोनारो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ ।

झन्डै १५ करोड ९० लाख मतदाता रहेका यस चुनावलाई ब्राजिलको भविष्यको आर्थिक तथा कूटनीतिक दिशासँग जोडेर हेरिएको छ ।

बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको प्रमुख आधार बनाउनुभएको छ । उहाँले दुर्लभ खनिजलगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । साथै सत्तापलटको प्रयाससम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय भोगिरहेका आफ्ना पिता जायर बोल्सोनारोलाई रिहा गराएर राजनीतिमा फर्काउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनुभएको छ । ट्रम्प प्रशासनले ब्राजिलको निर्यातमा उच्च भन्सार शुल्क लगाउने, वाशिङ्टनमा रहेका ब्राजिलका राजदूतको भिसा रद्द गर्ने तथा जायर बोल्सोनारोमाथिको अनुसन्धानसँग सम्बन्धित सर्वोच्च अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाएपछि लुलाले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आजको मतदानमा राष्ट्रपतिसँगै २७ राज्यका गभर्नर, राज्य विधायिकाका सदस्य, सङ्घीय कंग्रेसका सबै ५१३ सदस्य तथा ८१ सदस्यीय सिनेटका ५४ सदस्य पनि निर्वाचित हुनेछन् ।

राजनीतिक विश्लेषक थोमस ट्राउम्यानका अनुसार अन्तिम समयमा उम्मेदवार वा उनीहरूका सहयोगीबाट हुने कुनै पनि गल्तीले अनिर्णीत मतदाताको निर्णयमा प्रभाव पार्न सक्छ । उहाँका अनुसार ब्राजिलको तीव्र राजनीतिक ध्रुवीकरणका कारण यो चुनाव नीतिगत बहसभन्दा आरोप–प्रत्यारोपमा केन्द्रित भएको छ ।

४ वर्षअघि लुलाले जायर बोल्सोनारोलाई झन्डै २१ लाख मतको अन्तरले पराजित गर्नुभएको थियो । त्यसयता महँगी, भ्रष्टाचार र राजनीतिक विवादका कारण मतदाताको धारणा फेरिएको विश्लेषण गरिएको छ ।

साओ पाउलोमा रहेको इन्स्पर विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्लोस मेलोजका अनुसार लुलाको उमेर र लामो राजनीतिक यात्राप्रति केही मतदाता असन्तुष्ट देखिए पनि उहाँ अझै बलियो प्रतिस्पर्धी हुनुहुन्छ ।

यस्तै भ्रष्टाचारसम्बन्धी आरोप र धार्मिक समूहहरूको आलोचनाले बोल्सोनारोलाई पनि चुनौती थपेको छ । त्यसैले यस पटकको चुनाव निकै प्रतिस्पर्धात्मक हुने विश्लेषकहरूको अनुमान छ ।

प्रकाशित मिति:
थप विश्व