नेभिगेशन
मंगलबार, असोज २०, २०८३

ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति हाम्राे नियन्त्रणमा छैन : उद्याेगमन्त्री

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनुभएको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

साहले युक्रेन–रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गर्नुभयो । आपूर्ति व्यवस्थालाई सहज बनाउन सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री साहले कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रमा हुने रैथाने बालीको प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नागरिकलाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठेर ‘स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ’ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नमा मन्त्री साहले भू–राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ