नेभिगेशन
बुधबार, असोज २१, २०८३
भाेटेकाेशी बाढीकाे असर

नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै – रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ ।

बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आँकलन छ ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ ।

पुनर्निर्माण तथा पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदाे आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ ।

सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले विपद‍्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो ।

सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ । पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ