नेभिगेशन
आइतबार, असोज २५, २०८३

बीपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दशैँमा थप सहज

काठमाण्डाै – दुई वर्षअघिको बाढी पहिरोले क्षतिग्रस्त काभ्रेतर्फको बीपी राजमार्गमा अहिले पुनर्निर्मित सडकबाटै गाडी आवागमन भइरहेकाे छ । दशैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

विसं २०८१ असोजको बाढी पहिरोले झन्डै ३० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएकाे थियाे । यही असोज पहिलो हप्ताको अविरल वर्षाको बाढीले त्याे डाइभर्सन बगाएपछि अहिले पुनर्निर्मित सडकबाटै आवागमन भइरहेकाे छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले अहिले मर्मत भइराखेको र डाइभर्सनसमेत प्रयोग गरिएको छ भने डालाबेँसी–पिप्ले सडक खण्डको झन्डै २०० मिटरमा डाइभर्सनमा गाडी सञ्चालन भइरहेकाे छ ।

अहिले पुनर्निर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने कार्यालयका प्रमुख योगेशले बताउनुभयाे । ‘वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अवरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ । दशैँमा यात्रा सहजताका लागि थप मर्मत कार्य भइरहेको छ’, उहाँले भन्नुभयो ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डाैसँग जोड्ने छोटो दूरीका रूपमा रहेको बीपी राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशीको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाउने हुँदा अवरुद्ध भइहाल्थ्यो ।

कार्यालयका प्रमुख याेगेशका अनुसार पहिलेकै ठाउँमा पुनर्निर्माण भएका धेरैजसाे खण्डबाट गएकाे भदौदेखि गाडी आवागमन गराउँदै आइएको थियो । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ ।

बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको धेरैजसाे ठाउँमा ग्राभेलसम्मको काम तथा केही ठाउँमा भने ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो । अहिले वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाबाट झन्डै १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गर्ने याेजना छ ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । यसमध्ये काभ्रेतर्फका तीन सडक खण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको एक डक खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।

क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ । जाइकाले यस खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरेको जनाएको छ ।

वर्षाका समयमा पनि यस खण्डमा खोलाबाट गाडी चलाउनुपर्ने अवस्था नभएको कार्यालय प्रमुख योगेशले बताउनुभयो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य शुरू भएको थियो । खण्ड खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति:
थप समाज