नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

भारतको अरुणाचलमा जलविद्युत् बाँध परियोजनाविरुद्धको प्रदर्शन उग्र

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा झडप हुँदा ४० जना प्रहरी घाइते भएका छन् ।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्न लागेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध स्थानीयवासीले आन्दोलन गरेका हुन् ।

प्रदर्शनकारीहरूले प्रहरी चौकी, एनएचपीसीको कार्यालय र जनप्रतिनिधिका घरहरूमा तोडफोड र आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

आयोजना निर्माण भए आफ्नो घर र जमिन गुम्ने स्थानीयवासीको चिन्ता छ । चीनले सीमा नजिकै निर्माण गर्न लागेको १६७ अर्ब अमेरिकी डलरको विशाल आयोजनाका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भन्दै भारतले जवाफमा यो बाँध निर्माण गर्न खोजेको हो ।

यसैबीच भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमा क्षेत्रमा चिनियाँ सेनाको गतिविधिका कारण बेलाबेलामा तनाव उत्पन्न हुने गरेको बताउँदै दुवै देश कूटनीतिक र सैन्य संयन्त्रमार्फत विवाद समाधानका लागि नियमित सम्पर्कमा रहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:
थप विश्व