नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

अमेरिकामा क्यानडाबाट आयात हुने केही वस्तुकाे शुल्क हटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडाबाट आयात हुने केही वस्तुमाथि लगाइएको शुल्क हटाउने निर्णय गरेको छ ।

अर्को हप्ता कात्तिक १७ गते हुन लागेको मध्यावधि चुनावको बेला गरिएो निर्णयले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई चुनावी फाईदा पुग्न सक्ने  विज्ञहरुको अनुमान छ ।

ह्वाइट हाउसका अनुसार प्लाइवुड, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी र रेफ्रिजरेसन उपकरणलगायत वस्तुमा शुल्क खुकुलो बनाएको छ । नयाँ व्यवस्था अक्टोबर ३० अर्थात कात्तिक १३  देखि लागू हुनेछ ।

अमेरिका–क्यानडा सीमा क्षेत्रमा पर्ने मेन राज्यकी सिनेटर कोलिन्सले स्थानीय किसान तथा उद्योगीहरू क्यानडाबाट आयात हुने विशेष उपकरण र प्याकेजिङ सामग्रीमा निर्भर रहेको बताउनुभएको एएफपीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्लुबेरी, आलु, स्याउ र समुद्री वनस्पतिजस्ता मेन राज्यका कृषि उत्पादनसँग सम्बन्धित वस्तुमा पनि छुट सुनिश्चित गरिएको बताउनुभएको छ ।

क्यानडाको कुल निर्यातको झण्डै ७० प्रतिशत अमेरिकी बजारमा जाने भएकाले अमेरिकी शुल्क नीतिले क्यानडाको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । गाडी, स्टिल, आल्मुनियम र काठमा लगाइएका शुल्कका कारण क्यानडाका उद्योग, रोजगारी र आर्थिक वृद्धिमा दबाब परेको छ । अमेरिका–क्यानडा व्यापार वार्ता असफल भएपछि ट्रम्प प्रशासनले थप शुल्क लगाएको थियो ।

क्यानडा सरकारले पछिल्लो निर्णयको मूल्याङ्कन गर्दै अमेरिकासँग रचनात्मक र सद्भावपूर्ण ढङ्गले सहकार्य गर्न तयार रहेको जनाएको छ ।


 

प्रकाशित मिति:
थप विश्व