नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् ।

सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ ।

बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको यही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो । गएकाे वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा १० वटा वाणिज्य बैंक १ अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएका छन् । सबैभन्दा धेरै नाफा कमाउने सूचीको शीर्ष स्थानमा नबिल बैंक रहेको छ । नबिलले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उल्लेखनीय सुधार गर्दै १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ ।

१ अर्बभन्दा धेरै नाफा कमाउने अन्य बैंकहरूमा एभरेस्ट, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, कृषि विकास, कुमारी र सानिमा बैंक रहेका छन् ।

गएको वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफा कमाउँदै घाटाबाट उस्किएको छ । यसैगरी लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा दोब्बरभन्दा धेरैकाे वृद्धि गरेका छन् ।

प्रकाशित मिति:
थप अर्थ