नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

मोरङको केरौन १३२ केभी सबस्टेशन सञ्चालनमा

काठमाण्डाै – मोरङकाे कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेशन आजदेखि सञ्चालनमा आएको छ ।

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेशनमा १३२/३३ केभी, ६३ एमभीए क्षमताका २ वटा र ३३/११ केभी, २२‍.५ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । समग्रमा सबस्टेशनको कुल क्षमता १४८.५ एमभीए रहेको छ ।

सबस्टेशनबाट रङ्गेली र विराटचोकतर्फ विद्युत् आपूर्तिका लागि ३३ केभीका २/२ वटा लाइन निर्माण गरिएको छ । ती लाइनहरूलाई पनि तिहारअघि चार्ज गरी सञ्चालनमा ल्याएर सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति शुरू गरिने प्राधिकरणले जनाएकाे छ । त्यसैगरी स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेशनबाट ११ केभीका ५ वटा फिडर लाइनको व्यवस्था गरिएको र यसलाई पनि छिटै चार्ज गरी विद्युत् आपूर्ति गरिने छ ।

सबस्टेशन सञ्चालनमा आएसँगै मोरङ तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयाेग पुग्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो ।

विशेषगरी लामो दूरीका ३३ केभी वितरण लाइनबाट विद्युत आपूर्ति भइरहेका क्षेत्रमा लाइनको दूरी घट्ने भएकाले न्यून भोल्टेज, छिनछिनमा विद्युत् अवरुद्ध हुने (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने प्राधिकरणले जनाएकाे छ ।

केरौन सबस्टेशन निर्माणका लागि विसं २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । झन्डै १ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र एशियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

प्रकाशित मिति:
थप अर्थ