नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

क्यानडाबाट ४ हजार ५०० भन्दा धेरै भारतीय नागरिक निष्कासित

यस वर्ष क्यानडाबाट ४ हजार ५०० भन्दा धेरै भारतीय नागरिक निष्कासित भएका छन् । गएको सेप्टेम्बर ३० सम्ममा ४ हजार ५२६ भारतीय नागरिक निष्कासनमा परेका क्यानाडा बोर्डर सर्भिसेज एजेन्सी (सीबीएसए) को तथ्याङ्कलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ ।

यस वर्ष अहिलेसम्म कुल १६ हजार ४२६ जनालाई क्यानडाबाट निष्कासित गरिएकोमा भारतीयहरूको हिस्सा २७ प्रतिशतभन्दा धेरै छ ।

सन् २०२० यता निष्कासनमा परेकाहरूमध्ये कुनै एक देशका नागरिकको सङ्ख्याका हिसाबले भारतीयहरू सबैभन्दा ठूलो समूह बनेको यो पहिलो पटक हो । अघिल्ला वर्षहरूमा भने मेक्सिकोका नागरिक यस सूचीको शीर्ष स्थानमा थिए ।

क्यानाडाबाट निष्कासनका तीन  वटा श्रेणी छन् । देशनिकाला आदेशले विशेष लिखित अनुमति प्राप्त नभएसम्म कुनै व्यक्तिलाई क्यानडामा पुनः प्रवेश गर्नबाट स्थायी रूपमा प्रतिबन्ध लगाउँछ ।

निष्कासन आदेशले कुनै व्यक्ति एक वर्षसम्म क्यानडा फर्कन पाउँदैन । यस्तै तथ्य लुकाएको वा गलत विवरण दिएको अवस्थामा यो अवधि पाँच वर्षसम्म हुन सक्छ ।

प्रस्थान आदेशअन्तर्गत आदेश लागू भएको ३० दिनभित्र सम्बन्धित व्यक्तिले क्यानडा छोड्नुपर्ने हुन्छ ।

निष्कासनको मुख्य कारण शरणार्थी आवेदनसम्बन्धी नियमहरूको उल्लङ्घन पाइएको छ । यसमा कागजातहरूमा गलत विवरण भर्नु, भिसा वा अन्य कागजातहरूमा झुटो जानकारी दिनु रहेको छ । कतिपय अवस्थामा व्यक्तिहरूविरुद्ध फौजदारी मुद्दाहरू पनि दायर गरिएका छन् ।

सीबीएसएको तथ्याङ्कअनुसार निष्कासनको प्रक्रियामा रहेका कुल ५२ हजार ४५७ मध्ये ११ हजार ३९३ जना भारतीय रहेका छन् ।

प्रकाशित मिति:
थप विश्व