नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता

काठमाण्डाै – जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिनुभएको छ । आज बसेको सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ताबारे जानकारी गराउनुभएको हो ।

थापाले आफूलाई कानूनी रूपमा राजदूत बन्न रोकावट नहुने भए पनि व्यक्तिगत विषय जोडिएकाले नाम फिर्ता लिने निर्णय गरेको समितिका सभापति श्रेष्ठमार्फत समितिलाई जानकारी गराउनुभयो ।

थापाको परिवार अहिले जापानको स्थायी बासिन्दा रहेकोमा समिति सदस्यहरूले प्रश्न उठाएका थिए । गएको असोज २८ गते बसेको सुनुवाइ समितिको बैठकमै उहाँको नाम अस्वीकृत गर्ने तयारी भए पनि सत्तारूढ दलका सांसद कविन्द्र बुर्लाकोटीले अडान लिएपछि होल्ड भएको थियो ।

थापाविरुद्ध जापानको पीआर लिएको उजुरी परेको थियो । त्यसबारे संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारलाई पत्राचार गरेको थियो ।

सरकारले गएको असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेको थियो । त्यसमध्ये १० जनालाई संसदीय सुनुवाइ समितिले स्वीकृत गरिसकेको छ । दुई जनाको नाम यसअघि नै अस्वीकृत भएको छ ।

प्रकाशित मिति:
थप राजनीति