नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ९ उजुरी

काठमाण्डाै – सर्वोच्च अदालतमा सिफारिश भएका चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नाै वटा उजुरी परेका छन् ।

आज बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले नौ वटा उजुरी परेका र थप उजुरी सङ्कलन गर्ने प्रक्रिया चलिरहेको जानकारी गराउनुभएको हो । प्राप्त उजुरीमध्ये एक जना प्रस्तावित न्यायाधीशविरुद्ध दुई वटा, दुई जनाविरुद्ध तीन/तीन वटा र एक जनाविरुद्ध एउटा उजुरी परेको उहाँले बताउनुभयाे ।

सभापति श्रेष्ठले गोप्य नरहेका उजुरीहरूको अध्ययन प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । गोप्य रूपमा प्राप्त भएका उजुरी भने समितिको आउँदो बैठकमा खोलेर अध्ययन गरिने उहाँको भनाइ छ ।

उजुरी अध्ययनपछि आउँदाे बैठकबाट प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएको छ ।

गएको असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको थियो । नाम प्रस्ताव हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति