नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

एनपीएल : विराटनगरले जनकपुरलाई २ रनले हरायाे

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए । विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो । विराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले नटआउट ५२, लोकेश बमले ५० रन बनाए । जनकपुरका अभिषेक तिवारीले २, मोइन अलीले १ विकेट लिए ।

यो जीतसँगै विराटनगर ४ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर ४ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे शुरू हुनेछ ।

अहिलेसम्म दुई खेल खेलको लुम्बिनीले एकमा जीत र एकमा हार बेहोरेको छ । यस्तै पोखराले दुई खेलमै हार बेहोरेको छ ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद