नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

दुई हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन

काठमाण्डौ – दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा धेरैको आवेदन परेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन परेको हो ।

आवेदक धेरै परे पनि सबै आवेदकलाई तालिममा सहभागी गराउने प्रतिष्ठानले जनाएको छ । तालिमका लागि पहिलो चरणमा ४२ हजारभन्दा धेरै र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा धेरै आवेदन प्राप्त भएका थिए ।

आज र भोलि गरी चार वटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले दुई हजारलाई तालिम दिने यसअघिको योजना थियो । तर, आवेदकको संख्या बढेपछि सबैलाई तालिममा सहभागी गराउने गरी व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।

आवेदन दिएका व्यक्तिलाई कक्षा शुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत लिंक पठाइनेछ । आवेदन फाराममा उल्लेख गरेको नाम र मोबाइल नम्बरका आधारमा आफूले रोजेको सत्रमा सहभागी हुन सकिनेछ । सहभागीले मोबाइल फोन वा ल्यापटपबाट तालिम लिन सक्नेछन् ।

तालिममा मुख्यतः च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्नेसम्बन्धी विषय समेटिएका छन् ।
Notice--1793765013.JPG
 

प्रकाशित मिति:
थप समाज