नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

पर्वतको जलजलामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

काठमाण्डौ – पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको भूगर्भविद्सहितको टोली, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो ।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै टोलीले केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको पनि अध्ययन गर्नेछ । विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो । भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाउने उपाध्यक्ष आचार्यले बताउनुभयो ।

टोलीले क्षति भएका, जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा, माटोको नमूना र ड्रोन क्यामेराको तस्बिरसहित श्रव्यदृश्य सङ्कलनका साथै प्रभावितसँग छलफल गरेको छ ।

गएको असोज ९ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै १४० घर जोखिममा रहेका प्रारम्भिक विवरण सङ्कलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा समेत क्षति भएको छ । बाढी प्रभावितमध्ये घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ ।

प्रकाशित मिति:
थप समाज