नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन शुरू भइसक्याे : मन्त्रालय

काठमाण्डाै – सोलुखुम्बुको फेरिचेमा आज बिहान भएको हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति निकालेर दुर्घटनाबारे विस्तृत अध्ययन तथा अनुसन्धान शुरू भइसकेको जानकारी दिएको हो ।

बिहान फेरिचेमा अवतरण गर्ने क्रममा एअर डाइनेस्टी र फिस्टेल एअरको हेलिकप्टर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा फिस्टेल एअरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्य चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको ज्यान गएको छ ।

दुवै हेलिकोप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि काठमाण्डाै ल्याई ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली आकाशलाई सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा नियमनलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।

दुर्घटनाको यथार्थ परिस्थिति र प्राविधिक कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको र प्राप्त निष्कर्ष तथा सिफारिशका आधारमा आवश्यक सुधारात्मक कदम चालिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
थप समाज