नेभिगेशन
सोमबार, कात्तिक २३, २०८३

कोप–३१ सम्मेलन उद्घाटनकै दिन आज नेपालका महत्वपूर्ण कार्यक्रम

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि शुरु हुँदैछ ।

टर्किएको अन्ताल्यामा मङ्सिर ४ गतेसम्म चल्ने यो सम्मेलनको उद्घाटनको दिन आज नेपालको तर्फबाट विभिन्न महत्वपूर्ण कार्यक्रम रहेका युएनएफसीसीसीको सचिवालयले जनाएको छ ।

सम्मेलनमा क्लिन इनर्जी नेपालको ‘नेपालको जलवायु आवाज – सगरमाथादेखि समुद्रसम्म जलवायु वित्त र कार्यान्वयनको विस्तार’ कार्यक्रम तय भएको छ । कार्यक्रमको मुख्य विषयवस्तुः सगरमाथादेखि समुद्रसम्म जलवायु परिवर्तनले पारेका प्रभावलाई सम्बोधन गर्न जलवायु वित्त बढाउने र जलवायु कार्यलाई प्रभावकारी बनाउने विषयमा नेपालको आवाज अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु रहेको छ ।

त्यस्तै नेपाल सरकारको आयोजनामा ‘नेपाल : हिमालदेखि समुद्रसम्म – तत्काल जलवायु कदम चाल्न र जलवायु वित्त बढाउन आह्वान’ कार्यक्रम समेत तय भएको छ । जलवायु परिवर्तनका कारण हिमाली तथा तटीय क्षेत्रमा परेको असर सम्बोधन गर्न तत्काल प्रभावकारी कदम चाल्न र विकासशील तथा जलवायु जोखिममा रहेका देशका लागि पर्याप्त, सहज र अनुदानमुखी जलवायु वित्त बढाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्नु हो ।

यसैगरी ‘नेपाल, जेडओआई, किर्गिस्तान, भुटान र इसिमोडः अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढीकरण’ अर्काे महत्वपूर्ण कार्यक्रम तय भएको छ । यस कार्यक्रमको मुख्य विषय जलवायु परिवर्तनका कारण जोखिममा परेका पर्वतीय क्षेत्रको संरक्षण तथा उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त परिचालन र विस्तार गर्ने रहेको छ ।

कार्यक्रममा नेपालसहित किर्गिस्तान, भुटान तथा इसिमोडले पर्वतीय क्षेत्रका जलवायु चुनौती र अनुकूलनका लागि आवश्यक वित्तीय सहयोगबारे छलफल गर्नेछन् । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ सम्मेलनमा सहभागी हुनुहुन्छ ।

सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले आज सम्बोधन गर्नुहुने कार्यक्रम छ ।   

प्रकाशित मिति:
थप राजनीति