नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

रैथाने गाईगोरु पाल्ने चलन हराउँदै

काठमाण्डौ - म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका यामप्रसाद पुनले रैथाने गाई पाल्न छाडेको पाँच वर्ष भयो । झण्डै तीन दशकसम्म गाई पालेर लेकबेँसी गर्नुभएका पुनले अहिले भैँसी पाल्ने गर्नुभएको छ ।

‘खेतबारी खनजोत गर्न मिनीटिलर भित्रियो, गाईगोरु पाल्ने चलन नै हरायो’ पुनले भन्नुभयो । उहाँजस्तै धेरैले गाईगोरु पाल्न छाडेपछि धवलागिरि क्षेत्रमा स्थानीय जात घट्दै गएका छन् । विगतमा घरघरमा गाईगोरु पाल्ने चलन थियो । तर अहिले स्थानीय जातका गाईगोरु भेट्टाउन मुस्किल हुन थालेको छ ।

धवलागिरि गाउँपालिका–७ ताकमका मनबहादुर चपाईँलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत जुटाउन समस्या हुन थालेको छ । गुर्जा, लुलाङ, मुना, मुदी र मल्कवाङमा घुम्ती गोठको सङ्ख्या घटे पनि गाईगोरु पाल्ने परम्परा पूर्ण रूपमा भने हटिसकेको छैन ।

धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्त्व बोकेका स्थानीय जातका गाईगोरु आधुनिक कृषि प्रविधि, व्यावसायिक पशुपालन र जनशक्ति अभावका कारण सङ्कटमा पर्न थालेका हुन् । उत्पादन लागत घटाउने र आम्दानी बढाउने उद्देश्यले किसान उन्नत तथा वर्णशङ्कर जातका गाईभैँसी पालनतर्फ आकर्षित भएपछि रैथाने जातका गाईगोरुको महत्त्व घट्दै गएको छ ।

बढी दूध दिने उन्नत जातका गाईभैँसी पाल्ने क्रम बढ्नु र खेतबारी खनजोत गर्न ट्याक्टर तथा मिनीटिलर हलोको प्रयोग हुन थालेपछि स्थानीय जातका गाईगोरु विस्थापित हुँदै गएको धवलागिरि गाउँपालिका–७ का इन्द्रलाल पौडेल बताउनुहुन्छ । सरकारले पनि प्रविधि अनि धेरै दूध दिने गाईभैँसीपालनमा जोड दिएकाले उन्नत र वर्णशङ्कर जातका पशुपालन बढेको छ । धवलागिरि गाउँपालिकाको पशुपन्छीसम्बन्धी तथ्याङ्कले पनि स्थानीय जातका गाईगोरु घट्दै गएको पुष्टि गर्छ ।

आठ वर्षको अवधिमा गाउँपालिकामा गाईगोरुको सङ्ख्या २ हजार ३४५ ले घटेको छ । २०७४ सालमा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा ६ हजार ७५६ गाईगोरु रहेका थिए । अहिले गाउँपालिकामा ४ हजार ४११ गाई रहेको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताउनुभयो । नयाँ पुस्ताको आकर्षण घट्दै जाँदा घुम्ती गोठसँगै स्थानीय जातका गाईगोरु पनि सङ्कटमा परेका छन् । 

कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको अभिलेखअनुसार नेपालमा पाइने आठ प्रजातिका गाईमध्ये म्याग्दीलगायत पहाडी जिल्लामा पालिने गाईलाई पहाडी जातका रूपमा चिनिन्छ । यी गाई भुटान, सिक्किम र दार्जिलिङबाट नेपाल भित्रिएको उल्लेख छ । 

प्रकाशित मिति:
थप समाज