नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यक : सभापति लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा बहस र सहमति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

रास्वपाका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि शुरू गर्नुभएकाे मेची–महाकाली पदयात्राको धनुषाकाे जनकपुरधाममा शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।

सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित गरी तीन वटै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

सत्तारूढ दल रास्वपाका सभापति लामिछानेले चुनावी घोषणापत्र र नारामा सीमित भएका प्रतिबद्धतालाई पनि अब व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताउनुभयो ।

त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले देशमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आमनागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची–महाकाली पदयात्रा शुरू गरेको जानकारी दिनुभयो ।

पदयात्रा भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियान पनि रहेको सिंहको भनाइ छ । उहाँले पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म दूरी पार गर्ने जानकारी दिनुभयो ।

जानकी मन्दिरबाट शुरू भएको पदयात्राका क्रममा मधेशसहित देशका विभिन्न भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने उहाँले बताउनुभयो । पदयात्रा आउँदो माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुनेछ ।

सिंहले हुलाकी राजमार्गको पदयात्रापछि आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गबाट अर्को यात्रा गर्ने योजना रहेको पनि जानकारी दिनुभएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति